काठमाडौँ — यातायात व्यवस्था विभाग ले छापिएका ८३६ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सार्वजनिक गरेको छ।
आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत तयार भएका लाइसेन्सहरूको विवरण सार्वजनिक गर्दै सम्बन्धित सेवाग्राहीलाई लिन आउन आग्रह गरेको हो।
लाइसेन्स लिन आउँदा अनिवार्य रूपमा राजस्व तिरेको सक्कल रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र साथमा ल्याउन विभागले सूचित गरेको छ।
जेनजी आन्दोलनका क्रममा विभागको कार्यालयमा भएको आगजनीबाट लाइसेन्स छपाइ मेसिनमा क्षति पुगेपछि हाल सुरक्षण मुद्रण केन्द्र मार्फत लाइसेन्स छपाइ भइरहेको छ।
तत्काल लाइसेन्स आवश्यक परेका सेवाग्राहीले अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि केन्द्रबाट छपाइको व्यवस्था गरिएको विभागले जनाएको छ।



