काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल बीच सोमबार साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ।
भेटमा देशको समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कुनै पनि प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन्। साथै, ऋण दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा हुने गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न नडराउन समेत आग्रह गरेका छन्।
प्रधानमन्त्रीले छोटो समयमा परिणाममुखी काम गर्न आवश्यक रहेको उल्लेख गर्दै समस्या पहिचान र समाधानको स्पष्ट रणनीति बनाउन सुझाव दिएका छन्। आर्थिक विकासलाई गति दिन गभर्नरबाट ठोस नीतिगत सुझावको अपेक्षा समेत व्यक्त गरेका छन्।
त्यस्तै, अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने सम्भावित प्रभावबारे अध्ययन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
जवाफमा गभर्नर पौडेलले सरकारी खर्च कार्यान्वयनमा देखिएको समस्या समाधान गर्दै ठूला पूर्वाधार आयोजनामार्फत आर्थिक गतिविधि बढाउन सकिने बताएका छन्।
उनका अनुसार काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरी भारतसँग जोड्ने तथा काठमाडौं–पोखरा फास्टट्रयाक अघि बढाउने सम्भावना रहेको छ। यस्ता परियोजनामा पहिलो वर्षमै २०–३० अर्ब रुपैयाँसम्म खर्च गर्न सकिने उनले उल्लेख गरेका छन्।
त्यसैगरी, रेमिटेन्स र वित्तीय सूचकांकलाई आधार बनाएर सार्वजनिक वित्त सुधारमा नेपाल राष्ट्र बैंकले सहयोग गर्न सक्ने उनको भनाइ छ। २–३ वर्षभित्र ठूला परियोजनाहरू सम्पन्न गर्न सकिएमा सकारात्मक आर्थिक परिणाम हासिल गर्न सकिने विश्वास पनि उनले व्यक्त गरेका छन्।



