काठमाडौँ: नेपालमा सञ्चालन भइरहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गर्दै र राइडरहरूको श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह’ले चरणबद्ध आन्दोलन सुरु गरेको छ। आइतबार काठमाडौं बल्खुमा भेला भएका राइडरहरूले हातमा कालो पट्टी बाँधेर सरकारको कमजोर नियमनविरुद्ध प्रतीकात्मक विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीसँग संवादको प्रयास गरे पनि समस्या समाधान नभएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको बताए। समूहले आफ्ना मागहरू पूरा नभएमा सामूहिक धर्ना, हस्ताक्षर अभियान, वृहत् र्यालीदेखि अन्तिम विकल्पका रूपमा राइड सेयरिङ सेवा नै बन्द गर्ने चेतावनी दिएको छ।
राइडरहरूले मुख्यतया पाँच बुँदे माग अघि सारेका छन्। सबै राइड सेयरिङ एपमा प्रति किलोमिटर २७ रुपैयाँ भाडा अनिवार्य गर्न, बोनस वा ‘गोल ट्रिप’को नाममा राइडरको वास्तविक कमाइ घटाउने खेल बन्द गर्न, नेपालमा दर्ता नभएका एपहरूलाई प्रतिबन्ध लगाउन, विदेशी कम्पनीलाई कानूनी दायरामा ल्याउन, र नेपाली एपलाई प्रोत्साहन गर्दै सरकारी मातहतमा सेवा सञ्चालन गर्न उनीहरूले जोड दिएका छन्।
राइडरहरूले चेतावनी दिएका छन् कि उनीहरूको धैर्यतालाई कमजोरी नलिनुहोस् र आन्दोलनलाई देशव्यापी बनाउने उनीहरूको योजना छ।



