काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बूढानीलकण्ठस्थित आफ्नो निवासमा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तथा परामर्श सुरु गरेका छन्।
मंगलबार बिहान सभापति लामिछानेले आम जनता पार्टीका अध्यक्ष प्रभु साह सँग छलफल गरेका हुन्।
छलफलका क्रममा लामिछानेले निर्वाचन परिणाममा रास्वपाको बलियो उपस्थिति देखिए पनि यसलाई सबै नेपालीको साझा जितका रूपमा लिनुपर्ने बताएका थिए। उनले सरकार र संसदलाई प्रभावकारी बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
उनको भनाइ उद्धृत गर्दै अध्यक्ष साहले भने,
“यो रास्वपाको मात्र जित होइन, सम्पूर्ण नेपालीको जित हो। अब सरकार र संसदलाई प्रभावकारी बनाउन सबैले जिम्मेवारी लिनुपर्छ।”
छलफलमा मधेस र कर्णालीजस्ता पछाडि परेका क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा पनि जोड दिइएको थियो। लामिछानेले ती क्षेत्रहरूको एकीकृत विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।
यसैबीच, सभापति लामिछानेले राष्ट्रिय सभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर सँग पनि भेटवार्ता गरेका छन्।
ठाकुरसँगको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास, तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार, पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।



