जेनजी प्रदर्शनमा बल प्रयोगको आरोप: पूर्व सीडीओ रिजाल नियन्त्रणमा

काठमाडौँ । जेनजी आन्दोलनमा भूमिका खेलेको आरोपमा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।

प्रहरीले रिजाललाई मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको हो। भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा भएको मानवीय क्षतिको जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगको सिफारिसअनुसार उनलाई नियन्त्रणमा लिइएको हो।

गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उक्त घटनामा तत्कालीन प्रजिअ रिजाललाई दोषी किटान गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि आन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोपमा ओली र लेखक यसअघि नै पक्राउ परेर अदालतबाट पाँच दिनको म्याद थप भइसकेको छ।

रिजालमाथि बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोप लाग्दै आएको छ। आयोगको प्रतिवेदनअनुसार उनले पदीय जिम्मेवारीमा गम्भीर लापरबाही (‘हेलचेक्र्याइँ’) गरेको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बानेश्वरमा झण्डै चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा र प्रदर्शनकारीहरूको ज्यान जाँदा पनि प्रजिअको हैसियतमा उनले स्थिति नियन्त्रण गर्न प्रभावकारी पहल नगरेको आरोप छ।

त्यस्तै, कर्फ्यु आदेश जारी गरिसकेपछि पनि सुरक्षा निकायहरूबीच समन्वय कायम गर्न नसकेको र बल प्रयोगसम्बन्धी सिद्धान्त कार्यान्वयन गराउन असफल भएको प्रतिवेदनमा औँल्याइएको छ।

आयोगले उक्त घटनामा मानवीय क्षति हुनुमा अधिकारीहरूको गम्भीर लापरबाही जिम्मेवार रहेको ठहर गर्दै रिजालसहित सम्बन्धित व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२(१) अनुसार अनुसन्धान र अभियोजन गर्न सरकारलाई सिफारिस गरेको थियो।

यद्यपि, पक्राउ परेका रिजालले भने आयोगसमक्ष दिएको बयानमा आफूले घातक गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्। उनले संसद भवनको सुरक्षा र प्रदर्शनकारीहरूको ज्यान जोगाउने ‘डुअल अब्जेक्टिभ’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको बताएका छन्।

उनका अनुसार अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश मात्र दिइएको थियो।

रिजालले भदौ २३ गते प्रदर्शनकारी संसद भवनतर्फ अघि बढेपछि तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलाई जानकारी गराएर उनीहरूकै निर्देशनमा दिउँसो १२:३० बजेबाट कर्फ्यु लगाइएको बताएका छन्।

उनले सुरक्षाकर्मीलाई संयमता अपनाउन र मानवअधिकारको सम्मान गर्न निर्देशन दिएको दाबी गरे पनि आयोगले भने उनलाई घटनाको जिम्मेवारीबाट मुक्त राख्न नसकिने स्पष्ट पारेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card