नेप्से सीईओका लागि खुला प्रतिस्पर्धा, १५ दिनभित्र आवेदन दिन आह्वान

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनुपर्नेछ। आवेदनसँगै गोप्य खामबन्दीमा पाँच हजार शब्दभन्दा बढी नहुने व्यावसायिक कार्ययोजना तीन प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

सीईओ पदका लागि अर्थशास्त्र, व्यवस्थापन, वित्त, वाणिज्य, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) सरहको शैक्षिक योग्यता आवश्यक पर्नेछ।

त्यसैगरी, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने तथा उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

व्यावसायिक कार्ययोजनामा नेपालको पुँजी बजारको वर्तमान अवस्था, नेप्सेको संस्थागत सुधार, सूचना प्रविधिको प्रयोग, जोखिम व्यवस्थापन, लगानीकर्ता संरक्षण तथा आगामी सुधारका स्पष्ट योजना समेट्नुपर्नेछ।

छनोट प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकन गरिनेछ। त्यसपछि नेतृत्व क्षमता, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन उम्मेदवारको नाम नियुक्तिका लागि सिफारिस गरिने अर्थ मन्त्रालयले जनाएको छ।

मुख्य बुँदाहरू

  • नेप्से सीईओ नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान।
  • सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने।
  • अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनुपर्ने।
  • आवेदनसँगै पाँच हजार शब्दभित्रको व्यावसायिक कार्ययोजना तीन प्रति पेश गर्नुपर्ने।
  • स्नातकोत्तर वा सीए सरहको शैक्षिक योग्यता अनिवार्य।
  • पुँजी बजार वा वित्तीय क्षेत्रमा १५ वर्ष र व्यवस्थापकीय तहमा सात वर्षको अनुभव आवश्यक।
  • उम्मेदवारको उमेर ३० देखि ६५ वर्षभित्र हुनुपर्ने।
  • छनोट दुई चरणमा हुने, अन्तिम तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गरिने।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin