काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ।
पार्टीले सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नलाई ध्यानमा राख्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख गरेका छन्।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा रहेको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने जनाएको छ।
पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको पनि स्पष्ट पारेको छ। साथै, घटनाको अनुसन्धानमा राज्यका निकायलाई सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।
एक महिलालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएको आरोपसहित सांसद सुनारको नाममा अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ।
सुनारले भने सार्वजनिक अडिओ एआई प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गर्दै आफूमाथिका आरोप झुटा भएको बताएका छन्। उनले घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्।



