भरतपुर, चितवन — भरतपुर महानगरपालिकाका करिब १४५ भन्दा बढी युवा स्वयंसेवक शिक्षकहरू अत्यन्तै न्यून पारिश्रमिक र सेवा-सुविधाबाट वञ्चित भएर मारमा परेका छन्। अंग्रेजी, गणित र विज्ञान जस्ता महत्त्वपूर्ण विषय पढाउनाका साथै विद्यालयका सम्पूर्ण प्राविधिक कामको जिम्मेवारी सम्हाल्दै आएका यी शिक्षकहरूलाई महानगरले लामो समयदेखि बेवास्ता गर्दै आएको छ। सरकारले सबै सरकारी निकाय तथा कर्मचारीका लागि एक महिनाको तलब बराबरको दशैँ बोनस (खर्च) उपलब्ध गराउने नियम बनाए पनि भरतपुरका स्वयंसेवक शिक्षकहरूले भने विगत दुई वर्षदेखि उक्त बोनस पाएका छैनन्।
विद्यालयको मुख्य शैक्षिक र प्राविधिक जग थामिरहेका युवा शिक्षकहरूले मासिक मात्र १० हजार, १५ हजार, १७ हजार र १९ हजार रुपैयाँको न्यून तलबमा पढाउन बाध्य हुनुपरेको छ। बढ्दो महँगीको समयमा यति सानो रकमले परिवार चलाउनै धौ-धौ परेको र त्यसमाथि चाडपर्वका बेला पाउनुपर्ने हक समेत खोसिएकाले उनीहरू गम्भीर मानसिक तथा आर्थिक पीडामा परेका छन्।
मेयरकहाँ पुगे पनि सुनुवाइ भएन, आक्रोशित शिक्षकहरू
आफ्ना जायज माग र समस्या लिएर शिक्षकहरूको टोली भरतपुर महानगरपालिकाकी मेयरसँग भेट्न पुगेको थियो। तर, समस्या समाधानका लागि पहल गर्नुको साटो स्थानीय सरकार प्रमुखबाटै बेवास्ता भएपछि स्वयंसेवक शिक्षकहरू थप निराश र आक्रोशित बनेका छन्। “दिनरात खटेर पढाउने र प्राविधिक काम गर्ने हामीलाई सामान्य चाडपर्व खर्चसमेत नदिनु अन्यायको पराकाष्ठा हो,” पीडित शिक्षकहरूले गुनासो गरे।
आफ्नो पसिनाको उचित मूल्याङ्कन नभएको र चाडपर्वको समयमा समेत रित्तो हात बस्नुपरेको भन्दै उनीहरूले अविलम्ब रोकिएको दशैँ बोनस वितरण गर्न र तलब पुनरावलोकन गर्न माग गरेका छन्। यदि स्थानीय सरकारले अझै पनि आफ्ना मागप्रति आँखा चिम्लिएमा चरणबद्ध विरोधका कार्यक्रम ल्याउन बाध्य हुने उनीहरूको चेतावनी छ।



