काठमाडौं । वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै २० वाणिज्य बैंकले करिब ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन्।
भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। साउन मसान्तमा यस्तो कर्जा ५२ खर्ब ८७ अर्ब रुपैयाँ थियो। असार मसान्तमा भने ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।
भदौमा १५ वटा वाणिज्य बैंकको कर्जा विस्तार भएको छ भने पाँच बैंकको कर्जा प्रवाह घटेको छ।
सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले एक महिनामा १६ अर्ब १९ करोड रुपैयाँले कर्जा बढाएर कुल कर्जा ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड, कुमारी बैंकले ७ अर्ब ६५ करोड र एभरेस्ट बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन्। नबिल बैंकको कर्जा पनि ४ अर्ब ८० करोड रुपैयाँले बढेको छ।
यस अवधिमा प्राइम बैंक, प्रभु बैंक, एनआईसी एसिया, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह भने घटेको छ।
कर्जा माग बढ्न थालेको संकेत
बैंकिङ क्षेत्रमा लामो समयदेखि रहेको अधिक तरलताका बीच कर्जा प्रवाह बढ्नुलाई निजी क्षेत्रबाट ऋणको माग बढ्न थालेको संकेतका रूपमा हेरिएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय निजी क्षेत्रबाट कर्जाको माग बढ्न थालेको र यो क्रम कायम रहे बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनमा सहयोग पुग्ने बताएका छन्।
न्यून ब्याजदर, स्थिरता र सुधारोन्मुख आर्थिक नीतिका कारण लगानीका लागि कर्जाको माग बढ्न थालेको उनको भनाइ छ।
यद्यपि, बैंकिङ क्षेत्रमा देखिएको भदौको कर्जा विस्तारलाई मात्रै आधार बनाएर दीर्घकालीन सुधारको निष्कर्ष निकाल्न नसकिने जानकारहरू बताउँछन्। दसैं–तिहारजस्ता चाडपर्वअघि कर्जाको माग बढ्ने भएकाले आगामी महिनाको प्रवृत्तिले कर्जा विस्तारको वास्तविक दिशा स्पष्ट गर्नेछ।
निक्षेप पनि बढ्यो
कर्जा प्रवाह बढे पनि बैंकहरूको निक्षेप संकलनमा पनि वृद्धि भएको छ। भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप करिब ७५ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो निक्षेप ७५ खर्ब १ अर्ब रुपैयाँ थियो।
कर्जा र निक्षेप दुवै बढेपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि केही बढेको छ। भदौ मसान्तमा वाणिज्य बैंकहरूको सीडी रेसियो ७१.१९ प्रतिशत पुगेको छ, जुन असार मसान्तको ६९.९० प्रतिशतभन्दा माथि हो।
यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको माग विस्तारै बढ्न थालेको देखाउँछ।



