अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न बुधबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो।

हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यही अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट तरलता खिच्दै आएको छ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका क्रममा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी क्रमशः रकम बाँडफाँट गरिने व्यवस्था रहेको छ।

राष्ट्र बैंकका अनुसार अनलाइन प्रणालीमार्फत बोलकबोल गरिनेछ र ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ। यसअन्तर्गत संकलित निक्षेपको सावाँ तथा ब्याज २०८३ असार ३ गते भुक्तानी गरिनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम तोकिएको सीमाभित्र रकम प्रस्ताव गर्न पाइनेछ। केन्द्रीय बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको अधिक तरलता व्यवस्थापन गर्न यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

वित्तीय बजारमा स्थिरता कायम राख्न र ब्याजदर सन्तुलन गर्न राष्ट्र बैंकले आवश्यकताअनुसार यस्ता उपकरण प्रयोग गर्ने जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin