काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।
यस दिन नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भएको हो। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।
बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यस दिन ३३७ वटा धितोपत्रको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच भएको छ।
शुक्रबार १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर १ हजार ३०९ रुपैयाँ ३० पैसा पुगेको छ। त्यस्तै, लक्ष्मी भ्यालु फन्डको मूल्य ८ प्रतिशतले बढेर प्रतिइकाइ ९ रुपैयाँ ८६ पैसा कायम भएको छ।
यता, बोटलर्स नेपाल तराईको सेयर मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता ११ हजार रुपैयाँमा झरेको छ। कालिन्चोक हाइड्रोपावरको मूल्य पनि ३.५५ प्रतिशतले घटेर ८७० रुपैयाँमा सीमित भएको छ।
कारोबार रकमका आधारमा शुक्रबार रिडी पावर शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको प्रतिकित्ता ३७० रुपैयाँका दरले १७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशतले बढेको हो।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकको १५ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
शुक्रबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेका छन् भने बाँकी सबै समूहको परिसूचक बढेका छन्। जसका कारण समग्र नेप्से परिसूचक सकारात्मक बनेको हो।


