काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको बढ्दो माग र आपूर्ति सहज बनाउन नेपाल आयल निगमले साउन १६ गतेदेखि टेकुस्थित आफ्नै कार्यालयबाट ग्यास बिक्री–वितरण सुरु गरेको छ।
निगमका अनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण भइरहेको छ।
खाना पकाउने ग्यासको बिक्रीलाई व्यवस्थित र उपभोक्तालाई सहज उपलब्ध गराउने उद्देश्यले टेकु कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।
निगमका अनुसार गत जुलाई महिनामा मात्रै करिब ४९ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। यस्तै, साउन १ देखि १५ गतेसम्म उद्योगीहरूले २६.५ मेट्रिक टन ग्यास आयात गरेका छन्।
यता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको छ। अधिकांश विक्रेताले उद्योगबाट पर्याप्त ग्यास नआएको भन्दै उपभोक्तालाई खाली हात फर्काइरहेका छन्।
बालाजु निवासी नवराज पोखरेलले पनि पछिल्ला केही दिनदेखि सहज रूपमा खाना पकाउने ग्यास नपाएको गुनासो गरेका छन्।


