जुलाईमा ७१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, चीनबाट आउने संख्या ६१ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशत बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्ष जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए।

पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट २३ हजार ४९० जना आएका छन्, जुन कुल पर्यटक आगमनको ३२.७३ प्रतिशत हो।

यसैगरी, चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ६१.०९ प्रतिशत बढी हो। यो संख्या कोभिडअघिको सन् २०१९ को जुलाईको तुलनामा पनि ८.६५ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ।

जुलाईमा अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत रूपमा हेर्दा, सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। तर यो संख्या गत वर्षको तुलनामा ११.९३ प्रतिशतले कम रहेको बोर्डले जनाएको छ।

यस्तै, दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३३.०५ प्रतिशत बढी हो। यस समूहमा चीनपछि दक्षिण कोरिया, मलेसिया, जापान, भियतनाम, सिंगापुर, म्यानमार र थाइल्यान्ड प्रमुख स्रोत मुलुक रहेका छन्।

त्यसैगरी, जुलाईमा युरोपबाट ९ हजार २७९, अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin