अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रसँग सहकार्य गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले आर्थिक सुधारका लागि सरकार र बैंकिङ क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयन रहेको बताए। अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान बैंकिङ क्षेत्रले नजिकबाट बुझ्ने भएकाले बजेट कार्यान्वयन तथा विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ थियो।

छलफलका क्रममा उनले कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून रहेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जाको माग बढ्न नसक्नु तथा लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय भएको बताए।

उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमन हुने संस्थाको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको उल्लेख गरे। आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व साझा लक्ष्य रहेको भन्दै आवश्यक कानुनी तथा प्रक्रियागत सुधार गर्न सरकार तयार रहेको स्पष्ट पारे।

अर्थमन्त्रीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। छलफलबाट प्राप्त सुझावलाई समस्या पहिचानमा मात्र सीमित नराखी कार्यान्वयनको ठोस मार्गचित्रमा रूपान्तरण गरिने उनले बताए।

नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउन बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न उनले आग्रह गरे।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin