अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन । अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबारसम्म संघीय सरकारको कुल सार्वजनिक ऋण ४०० खर्ब ४७ अर्ब डलर पुगेको हो।

ट्रेजरीको दैनिक नगद तथा ऋण विवरणअनुसार कुल ऋणमध्ये ३२२ खर्ब ६६ अर्ब डलर सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको सरकारी ऋणपत्रसँग सम्बन्धित छ भने ७७ खर्ब ८२ अर्ब डलर विभिन्न सरकारी निकायबीचको ऋण हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको सरकारी ऋण पछिल्लो एक दशकभन्दा कम अवधिमा दोब्बरभन्दा बढी भएको छ। सन् २०१७ जनवरीमा डोनाल्ड ट्रम्प पहिलोपटक राष्ट्रपति पदमा शपथ लिँदा अमेरिकाको कुल ऋण १९९ खर्ब ५ अर्ब डलर थियो।

त्यसयता ऋणमा भएको वृद्धिको करिब एकतिहाइ हिस्सा कोभिड–१९ महामारीका बेला सरकारले राहत तथा अन्य कार्यक्रमका लागि ठूलो मात्रामा गरेको खर्चसँग सम्बन्धित छ। बाँकी वृद्धि ट्रम्प र जो बाइडेन प्रशासनका आर्थिक नीतिका साथै लामो समयदेखि कायम कर आम्दानी र सरकारी खर्चबीचको असन्तुलनका कारण भएको बताइएको छ।

अमेरिकी बजेटमाथि निगरानी राख्ने संस्थाहरूले यसअघि नै अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्ने अनुमान गरेका थिए। उनीहरूले खर्च घटाउने, कर बढाउने वा दुवै उपाय अवलम्बन नगरे अमेरिकाले दीर्घकालमा गम्भीर वित्तीय दबाब सामना गर्न सक्ने चेतावनी दिएका छन्।

द्विदलीय तथा गैरनाफामुखी संस्था कमिटी फर अ रेस्पोन्सिबल फेडेरल बजेटकी अध्यक्ष माया म्याकगिनिसले बढ्दो सरकारी ऋणको प्रभाव सरकारको खातामा मात्र सीमित नहुने बताएकी छन्।

उनले उच्च ऋणका कारण मुद्रास्फीतिको जोखिम बढ्ने, बजेटका अन्य प्राथमिकताका लागि उपलब्ध स्रोत घट्ने र घरेलु तथा बाह्य संकटका बेला अमेरिकी अर्थतन्त्रको जोखिम बढ्न सक्ने बताइन्।

म्याकगिनिसका अनुसार अमेरिकी ऋण ३९० खर्ब डलर पुगेको पाँच महिनाभन्दा कम समयमै ४०० खर्ब डलर नाघेको हो। अमेरिकाको सरकारी ऋण २० वर्षभन्दा कम अवधिमा चार गुणा भएको छ भने सन् १९८१ मा पहिलोपटक अमेरिकी ऋण १० खर्ब डलर पुगेको थियो।

बढ्दो बजेट घाटा र ब्याज खर्च

अमेरिकाको बजेट घाटा पनि तीव्र रूपमा बढिरहेको छ। ट्रेजरी विभागका अनुसार जुलाईमा मात्रै अमेरिकी बजेट घाटा ४३२ अर्ब डलर पुगेको थियो, जुन अमेरिकी इतिहासकै चौथो ठूलो मासिक घाटा हो।

सन् २०२६ को वित्तीय वर्षका पहिलो १० महिनामै अमेरिकी बजेट घाटा अघिल्लो वर्षको पूरै वित्तीय वर्षको घाटाभन्दा बढी भइसकेको छ। चालु वित्तीय वर्ष सकिन अझै दुई महिना बाँकी रहेको छ।

अमेरिकाले वार्षिक करिब ७० खर्ब डलर खर्च गर्ने गरेको छ। यसमध्ये करिब ६० प्रतिशत सामाजिक सुरक्षा, मेडिकेयर, मेडिकेड तथा पूर्वसैनिकको स्वास्थ्य र सेवा सुविधाजस्ता अनिवार्य कार्यक्रममा खर्च हुन्छ।

यसबाहेक अमेरिकी सरकारले ऋणको ब्याज तिर्न मात्रै करिब ११ खर्ब डलर खर्च गरिरहेको छ। ऋणको आकार र ब्याजदर दुवै बढ्दै जाँदा ब्याज भुक्तानीको भार पनि बढिरहेको छ।

सन् २०२५ को वित्तीय वर्षमा पहिलोपटक अमेरिकी सरकारी ऋणको ब्याज तिर्ने खर्च रक्षा मन्त्रालय पेन्टागनको बजेटभन्दा बढी भएको थियो। सन् २०२६ को वित्तीय वर्षका पहिलो १० महिनामा ब्याज खर्च मेडिकेयरको स्वास्थ्यसम्बन्धी खर्चभन्दा पनि बढी पुगेको बताइएको छ।

ट्रम्प र बाइडेन कार्यकालमा कति बढ्यो ऋण?

ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी सार्वजनिक ऋण ७८ खर्ब डलरले बढेको थियो। यसको आधाभन्दा बढी हिस्सा उनको कार्यकालको अन्तिम नौ महिनामा कोभिड–१९ महामारी नियन्त्रण तथा आर्थिक राहतका लागि गरिएको खर्चका क्रममा थपिएको थियो।

ट्रम्पले जनवरी २०२५ मा दोस्रोपटक राष्ट्रपति पद सम्हालेयता मात्रै अमेरिकी ऋणमा थप ३८ खर्ब डलर वृद्धि भएको रोयटर्सले जनाएको छ। दुवै कार्यकाल जोड्दा ट्रम्प राष्ट्रपति रहँदा अमेरिकी ऋण ११६ खर्ब डलरले बढेको उल्लेख गरिएको छ।

यता, बाइडेनको चारवर्षे कार्यकालमा अमेरिकी सार्वजनिक ऋण ८४ खर्ब डलरले बढेको थियो। महामारीपछिको आर्थिक पुनरुत्थान, पूर्वाधार निर्माण, स्वच्छ ऊर्जामा अनुदानलगायतका ठूला सरकारी कार्यक्रमले ऋण बढाउन भूमिका खेलेका थिए।

ट्रम्पको दोस्रो कार्यकालको प्रमुख कार्यक्रम ‘वन बिग ब्युटिफुल बिल एक्ट’ ले मात्रै अमेरिकी ऋणमा ४७ खर्ब डलर थपिने अनुमान कांग्रेसको गैरदलीय बजेट कार्यालयले गरेको छ।

४०० खर्ब डलरको नयाँ सीमा पार हुनु अमेरिकी अर्थतन्त्रमा तत्काल संकट आएको संकेत नभए पनि लगातार बढ्दो ऋण, उच्च ब्याज खर्च, सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा कार्यक्रममा बढ्दो दायित्व र राजस्वसँगको असन्तुलनले अमेरिकामाथिको दीर्घकालीन वित्तीय दबाब गम्भीर बन्दै गएको संकेतका रूपमा हेरिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin