काठमाडौं । बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा नक्कली स्टेटमेन्ट पोस्ट गरेका थिए।
प्रहरीका अनुसार उनले च्याटजीपीटीको प्रयोग गरी रकम जम्मा गरेको देखिने नक्कली स्टेटमेन्ट तयार पारेका थिए। उक्त स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गरी आफूले राहत कोषमा सहयोग गरेको भन्दै प्रचार गरेका थिए।
त्यससँगै कार्कीले आफ्नै व्यक्तिगत क्यूआर कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ। यसरी राहत कोषमा रकम सहयोग गरेको भ्रम सिर्जना गरी अन्य व्यक्तिबाट आफ्नो खातामा रकम पठाउन सक्ने अवस्था बनाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरीले कार्कीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले राहत तथा उद्धारका नाममा सामाजिक सञ्जालमा आउने भ्रामक पोस्ट तथा व्यक्तिगत क्यूआर कोडमार्फत गरिने रकम संकलनप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।



