ग्यास सिलिन्डर साटफेर केन्द्र ११ स्थानमा विस्तार, असोज ३० सम्म मात्रै सेवा

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको संख्या बढाएर ११ पुर्‍याएको छ।

दसैंका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले आइतबार ६ स्थानबाट सुरु गरिएको साटफेर सेवा सोमबारदेखि थप पाँच स्थानमा विस्तार गरिएको हो। नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले उक्त व्यवस्था मिलाएको जनाएको छ।

संघका अनुसार सोमबारदेखि थपिएका केन्द्रमा बुढानीलकण्ठको चपलीस्थित भानु ग्यास, ललितपुरको हरिसिद्धिस्थित नेपाल र एचपी ग्यास, कलंकीस्थित गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास तथा सतुंगलस्थित श्रीमाया ग्यास रहेका छन्।

यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यासको सिलिन्डर साटफेर सेवा सञ्चालनमा आएको थियो।

त्यसैगरी, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर साट्न सकिनेछ। पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यासका सिलिन्डर साटफेर गर्न सकिने व्यवस्था छ।

संघले साटफेर सेवा असोज ३० गतेसम्म मात्रै सञ्चालन हुने जनाएको छ। उपभोक्ताले तोकिएका केन्द्रमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म सेवा लिन सक्नेछन्।

यसअघि असोज ३१ गतेसम्म बिहान ९:३० बजेदेखि सेवा उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि संघले समयतालिका परिवर्तन गरेको हो। तोकिएका ११ केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने पनि संघले स्पष्ट पारेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin