नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ।
निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको हो। यसअघि चैत ११ गते पनि मूल्य समायोजन गरिएको थियो।
नयाँ मूल्यअनुसार:
- पेट्रोल
- पहिलो वर्ग: १९९.५० रुपैयाँ
- दोस्रो वर्ग: २०१ रुपैयाँ
- तेस्रो वर्ग: २०२ रुपैयाँ
- डिजेल/मट्टितेल
- पहिलो वर्ग: १७९.५० रुपैयाँ
- दोस्रो वर्ग: १८१ रुपैयाँ
- तेस्रो वर्ग: १८२ रुपैयाँ
यसअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले आन्तरिक बजारमा पनि समायोजन गर्नुपरेको हो। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४७.१२ रुपैयाँ, डिजेलमा १३३.४५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको जनाएको छ।
निगमले हाल पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको र यही अवस्था जारी रहे भुक्तानी गर्न समस्या हुने चेतावनी दिएको छ।



