कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासन सुरु गरेको छ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर खुला गरिएको हो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये केही हिस्सा स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीहरूलाई बाँडफाँट भइसकेको छ।
दोस्रो चरणमा, सामूहिक लगानी कोषका लागि ४१ हजार २५० कित्ता र कर्मचारीहरूका लागि १६ हजार ५०० कित्ता सुरक्षित राखिएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ। सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद वैशाख ६ गतेसम्म थप गरिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE-NP Double B Issuer’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
यस IPO को निष्कासन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरूले C-ASBA प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट वा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरेर आवेदन दिन सक्नेछन्।



