काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ।
बिहीबार तोलामा चार हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज चार हजार नौ सय ६० रूपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ८५ रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उकालो लागेको छ। आज सुन प्रतिऔंस चार हजार सात सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



