काठमाडौँ । धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्त्वको रूपमा हेरिएको छ।
यस सुरुङमार्गको शिलान्यास २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सुरुमा करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको खर्च निर्माणक्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तनलगायत कारणले बढेर २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको उक्त परियोजनाको जिम्मा जापानी कम्पनी हाजमा–आन्दो जेभीले लिएको थियो। प्रारम्भिक लक्ष्यअनुसार ४२ महिनाभित्र सम्पन्न गर्ने योजना भए पनि प्राविधिक तथा भौगोलिक चुनौतीका कारण ढिलाइ हुँदै २०८२ सालमा आएर निर्माण सम्पन्न भएको हो। हाल धादिङतर्फ पहिरो नियन्त्रण र टोल गेट निर्माणको काम भइरहेको छ।
सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ कम्पनी संलग्न ज्वाइन्ट भेन्चर युक्सिन–एआरटीले पाँच वर्षका लागि पाएको छ। सडक विभागअन्तर्गतको परियोजना कार्यालयले करसहित करिब एक अर्ब १० करोड रुपैयाँमा सञ्चालन जिम्मा दिएको हो।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित दरअनुसार सवारीसाधनका प्रकारअनुसार फरक-फरक शुल्क निर्धारण गरिएको छ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसजस्ता हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ। मिनिबस तथा साना ट्रकका लागि प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ।
त्यस्तै, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टि एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।
सरकारले सुरुङमार्ग सञ्चालनसँगै काठमाडौँ–धादिङ सडकखण्डको यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।



