हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ। सो अवधिमा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन भएको हो।
प्रदेश सरकारका अनुसार घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रमुख आयस्रोतका रूपमा रहेका छन्। यी शीर्षकसहित बाँडफाँटतर्फ साउनदेखि चैतसम्म ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रूपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ५५ दशमलव ०७ प्रतिशत अर्थात् १७ अर्ब एक करोड दुई लाख ६३ हजार रूपैयाँ मात्र सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए।
घरजग्गा रजिष्ट्रेशनतर्फ चालु आवमा सात अर्ब ७० करोड रूपैयाँ लक्ष्य राखिएकोमा नौ महिनामा तीन अर्ब ५२ करोड ६२ लाख ५३ हजार रूपैयाँ मात्र उठेको छ। यस्तै सवारीसाधन करतर्फ आठ अर्ब २५ करोड रूपैयाँ लक्ष्य रहेकामा पाँच अर्ब छ करोड ५२ लाख ६२ हजार रूपैयाँ सङ्कलन भएको छ।
बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करतर्फ आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रूपैयाँ अनुमान गरिएकोमा पाँच अर्ब ६९ करोड छ लाख ७२ हजार रूपैयाँ प्राप्त भएको छ। अन्तःशुल्क करतर्फ चार अर्ब तीन करोड ७९ लाख नौ हजार रूपैयाँ लक्ष्य राखिएकोमा एक अर्ब ९९ करोड १५ लाख ५६ हजार रूपैयाँ मात्र सङ्कलन भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ १४ अर्ब ८१ करोड ९३ लाख रूपैयाँ अनुमान गरिएकोमा नौ महिनामा ५३ दशमलव ६० प्रतिशत अर्थात् सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको छ।
आन्तरिक स्रोततर्फ चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म दुई अर्ब ८५ करोड ८१ लाख ५६ हजार रूपैयाँ अर्थात् ५९ दशमलव ८३ प्रतिशत राजस्व उठेको मन्त्रालयले जनाएको छ।
आर्थिक तरलताको अभाव, घरजग्गा तथा सवारीसाधन खरिद–बिक्रीमा आएको कमी तथा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा राजस्व सङ्कलन निकायमा पुगेको क्षतिका कारण लक्ष्यअनुसार राजस्व उठ्न नसकेको जनाइएको छ।



