सेयर बजारमा ३ अर्ब ८० करोडको मिलेमतो कारोबार, धितोपत्र बोर्डको खुलासा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग जोडिएको ठूलो आर्थिक घोटालाको विवरण सार्वजनिक भएको छ। धितोपत्र बोर्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सेयर बजारमा मिलेमतोमा कृत्रिम मूल्य वृद्धि गरिएको देखाएको हो।

प्रतिवेदन अनुसार भट्ट र उनीसँग सम्बद्ध व्यवसायीहरूले नेपाल रि–इन्स्योरेन्सको करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर तथा नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकका ऋणपत्रहरू किनबेच गरेका थिए। यस्तो कारोबारमार्फत सेयरको मूल्य अस्वाभाविक रूपमा बढाइएको बोर्डको निष्कर्ष छ।

अनुसन्धानले भट्टले आफ्नो लगानी रहेका हिमालयन रि–इन्स्योरेन्स र त्यससँग सम्बद्ध विभिन्न कम्पनीहरू प्रयोग गरी कारोबार गरेको देखाएको छ। गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समार्फत समेत सेयर किनबेच गरिएको उल्लेख छ।

यस्तै, हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सामूहिक लगानी कोषको रकमसमेत सेयर कारोबारमा प्रयोग गरिएको पाइएको छ। यी सबै कारोबार एउटै ‘आइपी एड्रेस’ प्रयोग गरेर गरिएको प्रतिवेदनमा उल्लेख छ, जसले मिलेमतोको आशंका बलियो बनाएको छ।

धितोपत्र बोर्डका अनुसार भट्ट समूहले आपसी कारोबारमार्फत सेयर र ऋणपत्रको मूल्य बढाउने रणनीति अपनाएको थियो। यस प्रक्रियामा सुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र रोहित गुप्ताको समेत संलग्नता देखिएको छ भने शेखर गोल्छाले भुक्तानी प्रक्रियामा सहयोग गरेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा धेरैजसो कारोबार उधारोमा भएको पनि उल्लेख छ। भट्ट समूहले ब्रोकर कम्पनीहरूलाई ४ अर्ब ७८ करोड रुपैयाँ तिर्न बाँकी रहेको र उनीहरूले ब्रोकरबाट ४ अर्ब ४७ करोड रुपैयाँ लिन बाँकी रहेको देखिएको छ।

यसैबीच, अर्को अध्ययनले हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष सुलभ अग्रवालले पदमा रहँदा नै नियमविपरीत सेयर कारोबार गरेको देखाएको छ। उनले आफ्नै छोराको नाममा फर्जी अंशबन्डा गरी सेयर हस्तान्तरण गरेको र पछि बिक्री गरेको पाइएको छ।

प्रतिवेदन अनुसार सो कारोबारमा प्रयोग भएको इन्टरनेट सेवा पनि एउटै ‘आइपी एड्रेस’मा आधारित थियो। छोराको नाममा गरिएको कारोबारबाट प्राप्त रकममध्ये करिब ८० प्रतिशत रकम पुनः सुलभकै खातामा जम्मा भएको उल्लेख छ।

धितोपत्र बोर्डले उक्त घटनालाई गम्भीर आर्थिक अनियमितता भन्दै थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin