काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको न्यूनतम भाडादर बढाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि प्राधिकरणले इन्धन शुल्क (फ्युल सरचार्ज) समायोजन गर्दै नयाँ भाडादर लागू गरेको हो।
नेपाल आयल निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएको थियो। मूल्यवृद्धिपछि हवाई इन्धनको मूल्य प्रतिलिटर २९० रुपैयाँ पुगेको छ।
इन्धन महँगिएसँगै प्राधिकरणले आन्तरिक उडानको न्यूनतम भाडादर औसत ८ प्रतिशतले वृद्धि गरेको जनाएको छ।
नयाँ दरअनुसार काठमाडौं–धनगढी रुटमा न्यूनतम भाडा १० हजार १२० रुपैयाँबाट बढेर ११ हजार रुपैयाँ पुगेको छ। यससँगै उक्त रुटको टिकट मूल्य ८८० रुपैयाँले बढेको हो।
त्यसैगरी, सबैभन्दा बढी वृद्धि विराटनगर–धनगढी रुटमा भएको छ। यस रुटको भाडा १ हजार २९० रुपैयाँले बढेर १६ हजार ३५ रुपैयाँ पुगेको छ।
यस्तै, नेपालगञ्ज–भद्रपुर रुटको न्यूनतम भाडा १ हजार १७० रुपैयाँले वृद्धि भई १४ हजार ५६० रुपैयाँ कायम गरिएको छ।
प्राधिकरणले इन्धनको लागत बढेका कारण वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च समायोजन गर्न नयाँ भाडादर लागू गरिएको जनाएको छ। नयाँ व्यवस्था लागू भएसँगै आन्तरिक हवाई यात्रा गर्ने यात्रुले अब अघिल्लोभन्दा बढी भाडा तिर्नुपर्ने भएको छ।



