काठमाडौं । अब केही एटिएमबाट एक सय रुपैयाँ दरका नोट पनि निकाल्न सकिने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट सय रुपैयाँका नोटसमेत निकाल्न सकिने व्यवस्था गर्न लागिएको राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठले जानकारी दिएकी छन्।
नजिकिँदो दसैंमा नयाँ तथा सुकिला नोट लिन बैंकमा हुने भीड कम गर्ने उद्देश्यले बैंकरहरूले एटिएमबाटै साना दरका नोट निकाल्न सकिने व्यवस्था गर्न माग गरेका हुन्। राष्ट्र बैंकले पछिल्ला केही वर्षयता दसैंमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ।
हाल अधिकांश एटिएमबाट ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ। नयाँ व्यवस्थापछि भने केही एटिएमबाट सय रुपैयाँका नोट पनि निकाल्न सकिनेछ।
तर यो सुविधा सबै एटिएममा उपलब्ध हुने छैन। परम्परागत एटिएम मेसिनमा दुईवटा दरका नोट मात्रै राख्न सकिने भएकाले प्रविधिअनुसार सीमित एटिएमबाट मात्र सय रुपैयाँका नोट निकाल्न सकिनेछ।



