१२ भदौ, काठमाडौं । अष्ट्रेलिया सरकारले रसुवा बाढीबाट प्रभावितका लागि ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो।
अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको जनाएको छ।
प्रभावित अष्ट्रेलियाली नागरिकलाई सहयोग गर्न अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी परिचालन गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका सदस्य र क्षेत्रीय कन्सुलर अधिकारी काठमाडौंमा परिचालन गरिएको जनाइएको छ।
अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने पनि जनाएको छ। टोलीले मानवीय अवस्थाको मूल्यांकन, राहत व्यवस्थापन तथा समन्वयमा सहयोग गर्नेछ।
घोषित सहायतामध्ये २० लाख अष्ट्रेलियन डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) लाई उपलब्ध गराइनेछ। त्यस्तै, २० लाख डलर अष्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल तथा स्वास्थ्य सेवामा खर्च गरिनेछ।
बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिने अष्ट्रेलियाले जनाएको छ।
सहायता खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक मानवीय सेवामा परिचालन गरिनेछ। सडक तथा पुलमा क्षति पुग्दा धेरै समुदाय बाहिरी सम्पर्कबाट अलग रहेकाले प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता आवश्यक रहेको अष्ट्रेलियाली सरकारले जनाएको छ।


