अष्ट्रेलिया जाने सपना बुनिरहेका नेपाली विद्यार्थीहरूका लागि एउटा दुखद खबर बाहिरिएको छ। पछिल्लो २४ घण्टाको अपडेट अनुसार, अष्ट्रेलिया सरकारले नेपाललाई भिसा जोखिमको सूचीमा ‘एसेसमेन्ट लेभल २’ बाट घटाएर ‘लेभल ३’ मा पुर्याएको छ। यो परिवर्तनसँगै अब नेपाली विद्यार्थीहरूको भिसा आवेदनमाथि पहिलेभन्दा निकै कडा र गहिरो छानबिन हुने निश्चित भएको छ।
कागजात र बैंक ब्यालेन्समा कडा निगरानी
नेपाललाई ‘लेभल ३’ मा झारिएपछि अब विद्यार्थीहरूले आफ्नो आर्थिक र शैक्षिक कागजातहरूमा निकै होसियारी अपनाउनुपर्ने हुन्छ। विशेषगरी बैंक ब्यालेन्स, आम्दानीको स्रोत र शैक्षिक प्रमाणपत्रहरूको प्रमाणीकरण प्रक्रिया अब निकै झन्झटिलो र सुक्ष्म हुनेछ। सामान्य त्रुटि भेटिएमा पनि भिसा अस्वीकृत (रिजेक्ट) हुने सम्भावना निकै बढेर गएको छ।
नयाँ नियम अनुसार, अब आवेदन दिँदा कम्तीमा ३ महिनाको स्पष्ट बैंक स्टेटमेन्ट र आम्दानीको विश्वसनीय प्रमाण पेश गर्नु अनिवार्य गरिएको छ। पछिल्लो समय नेपाली विद्यार्थीहरूको भिसा अस्विकृत हुने दर उच्च भएपछि अष्ट्रेलियाली अध्यागमन विभागले यस्तो कठोर कदम चालेको हो।
यदि तपाईं वा तपाईंको कोही आफन्त अष्ट्रेलिया जाने प्रक्रियामा हुनुहुन्छ भने, कागजात तयार पार्दा विज्ञको सल्लाह लिन र कुनै पनि विवरण गलत नहुने गरी सतर्क रहन जरुरी देखिन्छ। यो नयाँ व्यवस्थाले गर्दा अब अष्ट्रेलियाको भिसा प्रक्रिया केवल खर्चिलो मात्र नभई प्राविधिक रूपमा पनि चुनौतीपूर्ण बनेको छ।



