काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो पटक सचेत गराएको हो।
विभागका अनुसार वैदेशिक रोजगार व्यवसायीले श्रमिक पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्थाको पालना भए–नभएको अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको उडान विवरण माग गरिएको थियो।
विभागमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्रै विवरण बुझाएका थिए। विवरण बुझाउने कम्पनीमध्ये १५९ वटाले विभागको अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको विभागले जनाएको छ।
त्यस्तै, विभागले माग गरेको विवरण नबुझाउने ४३९ म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको भन्दै पहिलो पटक सचेत गराएको छ। ती कम्पनीलाई पुनः विवरण बुझाउन निर्देशन दिइएको छ।
कानुन र विभागीय निर्देशन पटक–पटक उल्लंघन गर्ने आठ म्यानपावर कम्पनीलाई भने थप कारबाही गरिएको छ। ती कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ। भारतबाट पुनः श्रमिक पठाउने तीन तथा विवरण नबुझाउने पाँच कम्पनीलाई जरिबाना गरिएको हो।
विभागले वैदेशिक रोजगार व्यवसायीलाई कानुनी व्यवस्था र निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गर्ने चेतावनी दिएको छ।
वैदेशिक रोजगार ऐनअनुसार विदेश जाने श्रमिकलाई सामान्यतया नेपालकै विमानस्थल प्रयोग गरेर पठाउनुपर्ने व्यवस्था छ। अन्य देशको विमानस्थल प्रयोग गर्नुपर्ने अवस्थामा विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।



