काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहरी क्षेत्रमा रहेका शाखा समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था गरेको छ। विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको र वित्तीय संस्थाका शाखा उल्लेख्य रहेको भन्दै राष्ट्र बैंकले निश्चित सर्त पूरा गरेर शाखा गाभ्न सकिने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार महानगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा समायोजन वा एकीकरण गर्न सकिनेछ। उपमहानगरपालिका तथा नगरपालिकाभित्रका शाखा भने तोकिएका सर्त पूरा गरेर मात्रै समायोजन गर्न पाइनेछ।
शाखा समायोजन गर्दा एक किलोमिटर दूरीभित्र सञ्चालनमा रहेका शाखामध्ये कम्तीमा एउटा शाखा कायम राख्नुपर्नेछ। सोही दूरीभित्रका अन्य शाखा मात्रै गाभ्न वा समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। यसरी शाखा समायोजन गर्दा वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्नुपर्नेछ।
राष्ट्र बैंकले शाखा समायोजनका कारण कर्मचारीलाई सेवाबाट हटाउन नपाइने व्यवस्था पनि गरेको छ। समायोजन भएका शाखामा कार्यरत कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रत्येक चारवटा शाखा बन्द गरेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नभएको ग्रामीण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्नेछ। नयाँ शाखा खोलेको विवरण राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
तर, गाउँपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा वा अन्य कार्यालय भने राष्ट्र बैंकको पूर्वस्वीकृतिबिना बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्न पाइने छैन।
शाखा समायोजन वा एकीकरण गरेको तीन कार्यदिनभित्र राष्ट्र बैंकको प्रतिवेदन प्रणालीमा विवरण अद्यावधिक गर्नुपर्नेछ। साथै, तोकिएको ढाँचामा शाखा समायोजनसम्बन्धी विवरण सम्बन्धित विभागमा पेस गर्नुपर्नेछ।



