आर्थिक दबाब बढेपछि बीबीसीले २ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । आर्थिक दबाब बढ्दै गएपछि बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा २ हजारसम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ।

बीबीसीले खर्च घटाउन व्यापक पुनर्संरचना कार्यक्रम अघि बढाउँदै विभिन्न विभागमा कर्मचारी संख्या घटाउने, केही टेलिभिजन कार्यक्रम बन्द गर्ने तथा नयाँ सामग्री निर्माणमा हुने खर्च कटौती गर्ने तयारी गरेको हो।

कम्पनीको योजनाअनुसार दुई वर्षभित्र करिब ५० करोड पाउन्ड बचत गर्ने लक्ष्य राखिएको छ। त्यसमध्ये करिब ५५० पद कटौतीले बीबीसी न्युज, टेलिभिजन र रेडियो सञ्चालनमा प्रत्यक्ष असर पार्ने जनाइएको छ। यी कटौतीबाट मात्रै करिब १६ करोड पाउन्ड बचत हुने अपेक्षा गरिएको छ।

खेलकुद विभागमा पनि ४१ पद कटौती गर्ने प्रस्ताव गरिएको छ। पुनर्संरचनाका क्रममा पाँच नयाँ पद सिर्जना हुने भए पनि कुल ३६ रोजगारी घट्नेछन्। यसबाट करिब २६ लाख पाउन्ड बचत हुने अनुमान गरिएको छ। कर्मचारी कटौतीका लागि बीबीसीले स्वैच्छिक अवकाश प्रक्रिया अघि सारेको छ।

प्रेस एसोसिएसनले प्राप्त गरेको आन्तरिक मेमोअनुसार चिफ कन्टेन्ट अफिसर केट फिलिप्सले आर्थिक वर्ष २०२७/२८ सम्म कमिसनिङ बजेटबाट ८ करोड पाउन्ड कटौती गर्ने प्रस्ताव गरेकी छन्। चालु आर्थिक वर्षको अन्त्यसम्म कन्टेन्ट डिभिजनबाट मात्रै करिब १०० पद कटौती हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीका महानिर्देशक म्याट ब्रिटिनले गत जुनमा कर्मचारीलाई पठाएको इमेलमा संस्थाले ठूलो रकम बचत गर्न कठिन निर्णय लिनुपर्ने बताएका थिए। उनले बीबीसीलाई थप सरल र प्रभावकारी बनाउने योजनाअन्तर्गत वरिष्ठ नेतृत्व तहका पदमा पनि कम्तीमा १० प्रतिशत कटौती गर्ने बताएका थिए।

बीबीसीको प्रस्तावित पुनर्संरचना पछिल्लो करिब १५ वर्षयताकै ठूलो कर्मचारी कटौती योजनामध्ये एक हुने बताइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin