काभ्रेपलाञ्चोक, २४ असार — गत वर्षको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग यस वर्षको मनसुनमा पुरानै ट्र्याकबाट सञ्चालन गर्ने तयारी गरिएको छ। जोखिमयुक्त स्थानमा संरक्षण संरचना निर्माणको काम तीव्र रूपमा अघि बढेपछि सडक विभागले यस्तो तयारी गरेको हो।
हाल सामान्य वर्षा वा सानो बाढीका बेला डाइभर्सनमार्फत सवारी सञ्चालन गरिनेछ भने ठूलो बाढीले डाइभर्सन बगाएमा पुरानै सडकमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार चौकीडाँडा, घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, बोक्सीकुना, कालढुङ्गा र पिप्लेलगायत अधिकांश जोखिमयुक्त क्षेत्रमा संरक्षण पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य स्थानमा पनि काम तीव्र गतिमा भइरहेको छ।
गत वर्षको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। हाल विभिन्न ठेक्का प्याकेजमार्फत पुनर्निर्माण भइरहेको छ र समग्र प्रगति करिब ३४ प्रतिशत पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ।
अहिलेसम्म पहिचान गरिएका १० जोखिमयुक्त स्थानमध्ये ७ स्थानमा सवारी सञ्चालन गर्न सकिने अवस्था तयार भइसकेको छ। वर्षाअघि पुरानै मार्ग सञ्चालनका लागि आवश्यक करिब ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम पनि तीव्र गतिमा भइरहेको जनाइएको छ।
जिल्ला प्रशासन, सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको संयुक्त टोलीले पुनर्निर्माणस्थलको अनुगमन गर्दै वर्षायामभर सुरक्षित रूपमा सवारी सञ्चालन सुनिश्चित गर्न बाँकी काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
पुनर्निर्माण अन्तर्गत १ नम्बर पुलदेखि चारसयबेँसीसम्म, चारसयबेँसीदेखि डालाबेँसीसम्म र डालाबेँसीदेखि पिप्लेसम्मका सडकखण्डमा विभिन्न निर्माण कम्पनीमार्फत काम भइरहेको छ। पिप्लेदेखि बर्खेखोलासम्मको सडकखण्ड भने जापान सरकारको सहयोगमा वर्षायामपछि पुनर्निर्माण सुरु हुने जनाइएको छ।



