बजार अनुगमनमा चार फर्मलाई ४ लाख २६ हजार रुपैयाँ जरिबाना, म्याद नाघेका खाद्यवस्तु र सरसफाइमा लापरबाही भेटियो

काठमाडौं, १९ असार — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्‍याउने तथा नियम उल्लंघन गर्ने चार वटा फर्मलाई कुल ४ लाख २६ हजार रुपैयाँ जरिबाना गरेको छ।

विभागले शुक्रबार गरेको अनुगमनमा काठमाडौंको न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई सबैभन्दा बढी २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ। अनुगमनका क्रममा रेस्टुरेन्टमा पिज्जा बनाउन प्रयोग हुने तेलमा साङ्लो भेटिनुका साथै म्याद नाघेका साल्सा सस र फ्रुट सिरप प्रयोग गरिएको पाइएको विभागले जनाएको छ।

त्यस्तै, कीर्तिपुरको चोभारस्थित ओरिजिन भेन्चर्स ग्रुप प्रालिलाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ। उक्त फर्ममा म्याद नाघेका सेन्चुरी सेकुवा मसला, लेमन आइस टी तथा लेबल नभएका पाउरोटी बिक्रीका लागि राखिएको भेटिएपछि ती सामग्री जफत गरी नष्ट गरिएको विभागले जनाएको छ।

यस्तै, खरिद बिल नराखेको पाइएपछि टेकुस्थित इन्द्रेणी पेन्ट्स एन्ड हार्डवेयरलाई २० हजार रुपैयाँ र नयाँ बानेश्वरस्थित पोखरेली लुम्बिनी तन्दुरी भोजनालयलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ।

विभागका अनुसार शुक्रबार कुल १२ वटा उद्योग तथा व्यावसायिक फर्ममा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा मध्यपुर थिमीस्थित एकेआर फुड्स र ललितपुरको सानेपास्थित म्याट्रिक्स प्रालिलाई व्यवसाय दर्ता प्रमाणपत्र, प्यान तथा खरिद–बिक्री बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनमा सामान्य कैफियत देखिएका अन्य ६ वटा फर्मलाई भने आवश्यक सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin