काठमाडौं, साउन १० — सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नतिरे १६ गतेदेखि खाता रोक्का गरिने जनाएको छ। खाता रोक्का भएपछि लगानीकर्ताले सेयर खरिद–बिक्री गर्न सक्ने छैनन्।
यसअघि असार मसान्तभित्र बुझाउनुपर्ने वार्षिक शुल्क यस वर्ष विशेष व्यवस्था गर्दै साउन १५ गतेसम्म तिर्न सकिने समय दिइएको हो। डिम्याट खाताको वार्षिक शुल्क रु. १०० र मेरोसेयर सेवाको वार्षिक शुल्क रु. ५० रहेको छ।
हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ भने सक्रिय मेरोसेयर खाताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको सीडीएससीले जनाएको छ।
मेरोसेयरमार्फत आईपीओ, एफपीओ, हकप्रद सेयर आवेदन तथा दोस्रो बजारमा कारोबार भएको सेयर हस्तान्तरणलगायतका सेवा सञ्चालन हुने भएकाले समयमै नवीकरण गर्न लगानीकर्तालाई आग्रह गरिएको छ।
अनलाइनबाटै कसरी नवीकरण गर्ने?
- मेरोसेयरमा लगइन गर्नुहोस्।
- माथिल्लो दायाँतर्फ रहेको आफ्नो नाममा क्लिक गरी Account Information मा जानुहोस्।
- Renew Account विकल्प चयन गर्नुहोस्।
- eSewa, Khalti, PrabhuPay, IME Pay वा Connect IPS मध्ये कुनै एक भुक्तानी माध्यम छान्नुहोस्।
- आवश्यक परे Meroshare & Demat Renewal वा छुट्टाछुट्टै सेवा छनोट गरी Proceed मा क्लिक गर्नुहोस्।
- सम्बन्धित वालेट वा बैंकिङ सेवामा लगइन गरी भुक्तानी पूरा गर्नुहोस्।



