काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (ई–वालेट) कम्पनीहरूलाई प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा प्रमाणित गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्था लागू भएपछि नेपाली नागरिकका नाममा खोलिने सबै ई–वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण विद्युतीय अभिलेखअनुसार यकिन गर्नुपर्ने भएको हो।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार सबै भुक्तानी सेवा प्रदायक संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट आफ्ना सबै वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्नेछ।
असोज मसान्तभित्र विवरण अद्यावधिक गर्नुपर्ने
निर्देशनअनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको परिचयपत्र विवरण सोही अवधिभित्र सम्बन्धित ई–वालेटमा अद्यावधिक गर्नुपर्नेछ।
राष्ट्रिय परिचयपत्र नबनाएका प्रयोगकर्तालाई भने परिचयपत्र बनाउन र ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न प्रत्येक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका नेपालीलाई विशेष व्यवस्था
विदेशमै बसेर अनलाइनमार्फत ई–वालेट खोल्ने नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन्।
तर नेपाल फर्किएपछि ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरी प्रयोगकर्ताको केवाइसी विवरण अद्यावधिक गर्नुपर्नेछ।
अशक्त तथा असहाय नागरिकलाई छुट
राष्ट्र बैंकले आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका लागि पनि विशेष व्यवस्था गरेको छ। यस्ता व्यक्तिले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा ई–वालेट खोल्न तथा वित्तीय कारोबार गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाको उद्देश्य ई–वालेट प्रयोगकर्ताको पहिचान थप विश्वसनीय बनाउँदै डिजिटल भुक्तानी प्रणालीको सुरक्षा र पारदर्शिता सुदृढ गर्नु हो।


