काठमाडौँ। भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १३ देखि डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई उक्त विद्युत् उपलब्ध गराउने जनाएको हो।
भारतले राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय गरेको छ। त्यसमध्ये मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् दिइनेछ।
भारतका अनुसार सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातबारे सन् २०२६ डिसेम्बरमा समीक्षा गरिनेछ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेपछि भारतले नेपाललाई विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।
भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।



