वैदेशिक रोजगारीका लागि ‘जब डिस्क्रिप्सन’ अनिवार्य, श्रम मन्त्रालयको नयाँ व्यवस्था

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन माग प्रमाणीकरणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, काम कम्पनीभित्र (इनडोर) वा कम्पनीबाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने पनि स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यदि कामदारले इनडोर र आउटडोर दुवै प्रकारका काम गर्नुपर्ने भए दुवैको कार्य समयसमेत उल्लेख गरेर मात्र माग प्रमाणीकरण गरिनेछ।

उनका अनुसार उक्त मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा पठाइनेछ।

यसअघि माग प्रमाणीकरण गर्दा कामको शीर्षक मात्र उल्लेख भए पुग्ने व्यवस्था थियो। अब भने रोजगारदाताले प्रस्ताव गरेको कामको प्रकृति, जिम्मेवारी र कार्य विवरण स्पष्ट रूपमा समावेश गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा–सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार परीक्षण गरी प्रमाणीकरण गरिनेछ।

श्रम मन्त्रालयले नयाँ व्यवस्थाले नेपाली श्रमिकमाथि हुन सक्ने शोषण र ठगी न्यूनीकरण गर्न, सेवा–सर्तको सुरक्षा सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीको प्रक्रिया थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin