जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न मिल्ने व्यवस्था हुँदै

काठमाडौं । दसैंका बेला उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको छ।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो। यसअन्तर्गत उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीभन्दा फरक ब्रान्डको खाली सिलिन्डर बुझाएर ग्यास लिन सक्नेछन्। यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एउटामात्र सिलिन्डर भएका उपभोक्ताले कम्पनी फरक परेकै कारण ग्यास नपाउने अवस्था अन्त्य गर्न यस्तो व्यवस्था गर्न उद्योगीहरूलाई आग्रह गरिएको बताए।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ। नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइलालगायत स्थानमा काउन्टर राख्ने विषयमा छलफल भइरहेको उनले बताए।

काउन्टरमा वास्तविक उपभोक्तालाई मात्र ग्यास उपलब्ध गराइनेछ। त्यसका लागि नागरिकता वा अन्य परिचय खुल्ने कागजात र मोबाइल नम्बर राखिने व्यवस्था गरिने उद्योगीहरूले बताएका छन्।

फरक–फरक कम्पनीका संकलित खाली सिलिन्डर उद्योगीहरूले पछि आपसी समन्वयमा व्यवस्थापन गर्नेछन्। निगमले निश्चित काउन्टरमा मात्र नभई डिलरबाटै जुनसुकै ब्रान्डको सिलिन्डर साट्न मिल्ने व्यवस्था भए उपभोक्ताका लागि अझ सहज हुने जनाएको छ।

कुन–कुन स्थानमा यस्तो सेवा उपलब्ध हुने भन्ने विषयमा उद्योगीहरू छलफलमा छन्। अन्तिम निर्णयपछि एक–दुई दिनभित्र औपचारिक सूचना जारी गर्ने निगमको तयारी छ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले ग्यासको खपत करिब ४० प्रतिशतसम्म घट्ने गर्छ। तर उपत्यकामै रहने र एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई यो व्यवस्थाले राहत पुग्ने अपेक्षा गरिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin