आपूर्ति पर्याप्त दाबी, ग्यासका लागि उपभोक्ताको घण्टौँ लाइन

बुटवल । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि रुपन्देहीका बुटवल र भैरहवामा उपभोक्तालाई खुला रूपमा ग्यास वितरण गरिएको छ। नेपाल आयल निगम, ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा मंगलबार ग्यास वितरण गरिएको हो।

बुटवल र भैरहवामा मंगलबार ८ वटा कम्पनीका गरी १ हजार ६ सय सिलिन्डर वितरण गरिएको थियो। स्वस्तिक, त्रिशूल, बुटवल, सिद्धार्थ, जानकी, सिद्धनाथ, लुम्बिनी र आरती ग्यासका ८ सय सिलिन्डर बुटवल र ८ सय सिलिन्डर भैरहवामा वितरण गरिएको ग्यास विक्रेता संघ रुपन्देहीले जनाएको छ।

ग्यास विक्रेता संघ रुपन्देहीका महासचिव सूर्य खनालका अनुसार बुटवलको बाल मन्दिर र भैरहवास्थित खाद्य संस्थानमा ग्यास वितरण गरिएको हो। उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि सहज आपूर्तिका लागि खुला रूपमा बिक्री वितरण गरिएको उनले बताए।

उनका अनुसार घरमा ग्यास थुपारेर राख्ने उपभोक्ताभन्दा एउटा मात्र सिलिन्डर भएका परिवार, विद्यार्थी, मजदुर, अशक्त, बिरामी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ।

वितरण स्थलमा खाली सिलिन्डर लिएर आउने उपभोक्ताको नागरिकता वा अन्य परिचयपत्र राखेर मात्र ग्यास उपलब्ध गराइएको खनालले बताए। यसबाट एउटै व्यक्तिले पटक–पटक ग्यास लैजाने तथा अनावश्यक रूपमा घरमा भण्डारण गर्ने प्रवृत्ति रोक्ने प्रयास गरिएको हो।

खनालका अनुसार रुपन्देहीका ग्यास उद्योगहरूले विगतको तुलनामा आपूर्ति घटाएका छैनन्। स्थानीय बजारको मागअनुसार करिब ६५ प्रतिशत क्षमतामा उत्पादन तथा आपूर्ति भइरहे पनि बजारमा अभाव देखिनुको कारण स्पष्ट हुन नसकेको उनको भनाइ छ।

स्वस्तिक ग्यास उद्योगका सञ्चालक महेश पोखरेलले पनि उद्योगमा विगतकै अनुपातमा उत्पादन भइरहेको दाबी गरेका छन्। तर बिक्री केन्द्रमा उपभोक्ताको लामो लाइन देखिँदा बजारमा माग अस्वाभाविक रूपमा बढेको देखिएको उनले बताए।

पोखरेलका अनुसार पछिल्ला ३–४ महिनासम्म आधा भरिएका सिलिन्डर वितरण हुँदै आएका थिए। करिब एक महिनादेखि पूर्ण रूपमा भरिएका सिलिन्डर वितरण गर्न थालेपछि बजारमा ग्यासको माग र दबाब थप बढेको उनको भनाइ छ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि बजारमा एलपी ग्यासको नियमित माग धान्न सक्ने गरी आयात तथा आपूर्ति भइरहेको जनाएको थियो। मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा ग्यास भण्डारण गर्ने वा कालोबजारी गर्ने कार्यमा कारबाही हुने चेतावनी दिएको थियो।

तर देशका विभिन्न क्षेत्रमा ग्यासका लागि उपभोक्ताको लामो लाइन देखिन थालेपछि आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सुर्खेतमा समेत नियमित खपतभन्दा बढी सिलिन्डर वितरण भइसक्दा उपभोक्ताले ग्यास नपाएको गुनासो गरेका थिए।

बुटवलमा चर्को गर्मीका बीच पनि बिहानैदेखि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर बाल मन्दिर पुगेका थिए। कतिपय उपभोक्ता छाता ओढेर लामो समयसम्म लाइनमा बसेका थिए। आयल निगमको समन्वयमा स्थानीय तह, प्रशासन, ग्यास उद्योगी र विक्रेताबीच समन्वय गरी आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin