काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी तथा प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बुधबारको छलफलमा मन्त्री यादवले ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न अहिले गुगल फारममार्फत विवरण संकलन तथा सार्वजनिक गर्न थालिएको जानकारी दिइन्।
उनका अनुसार ग्यासको आपूर्ति कहाँबाट भइरहेको छ, कति परिमाणमा बजारमा पुगिरहेको छ र वितरणको अवस्था कस्तो छ भन्ने विषयलाई व्यवस्थित रूपमा निगरानी गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माणको तयारी भइरहेको छ।
मन्त्री यादवले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्य संस्थानको स्टलमार्फत खाद्यान्न बिक्री वितरण सुरु गर्न लागिएको पनि जानकारी दिइन्।
यसैबीच, नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्।
साहले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिएको दाबी गरेका छन्। बजारमा ग्यासको अभाव देखिए पनि आयात तथा आपूर्तिको अवस्था सुधार हुँदै गएको उनको भनाइ छ।
सरकारले ग्यासको आपूर्ति र वितरण प्रणालीमा देखिएका समस्या पहिचान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने तथा बजारमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्न निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।



