लोबल आईएमई बैंकका प्रबन्धक पिताम्बर खड्काले फेसबुकमा बैंकका उच्च अधिकारीहरूको नाम किटेर आत्महत्या गरेपछि प्रहरीले सीईओसहितका पदाधिकारीहरूमाथि अनुसन्धान तीव्र पारेको छ। इलाका प्रहरी कार्यालय दमकले खड्कालाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मी, नायब सीईओ सुमन पोखरेल, मानव संसाधन प्रमुख अनामिका सिंह र सहायक सीईओ दीप चन्द्र रेग्मीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।
खड्काले आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा आफ्ना सिनियरहरूको फोटोसहित “तिमी हरामखोरहरुले मलाई मार्यौ” भन्दै गम्भीर आरोप लगाएका थिए। सोही स्ट्याटस पोस्ट गरेलगत्तै उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए भने पोष्टमार्टम रिपोर्टले पनि आत्महत्या नै भएको पुष्टि गरिसकेको छ।
राजीनामाको दबाब र बैंकभित्रको तनाव
स्थानीय वडाअध्यक्ष धर्मप्रसाद दाहालका अनुसार खड्कालाई बैंक व्यवस्थापनबाट मोटो दबाब दिएर राजीनामा माग्न विवश पारिएको थियो र उनले आत्महत्या गरेकै दिन उनको राजीनामा स्वीकृत समेत गरिएको खुलेको छ। घटनाको समयमा सीईओ रेग्मी जर्मनीमा रहेको बताइए पनि आत्महत्याको सुसाइड नोट जस्तै बनेको फेसबुक स्ट्याटसका आधारमा प्रहरीले उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याएको हो।
घटनापछि बैंकको उच्च व्यवस्थापनमा हल्लीखल्ली मच्चिएको छ भने मानव संसाधन प्रमुख अनामिका सिंह कानुनी परामर्शमा जुटेकी छिन्। बैंकको एउटा कानुनी टोली यतिबेला दमक प्रस्थान गरिसकेको छ। यस दुःखद घटनाले बैंकिङ क्षेत्रभित्र कर्मचारीहरूले भोग्नुपर्ने मानसिक तनाव र कार्यवातावरणको कुरुप पाटोलाई फेरि एकदा छताछुल्ल पारेको छ।



