गोरखामा बूढीगण्डकीमा भीषण बाढी, पुल र घर बगायो, नदी तटीय क्षेत्रमा सतर्कता

गोरखा, असोज २५ । गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा पहिरो गएपछि बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आएको छ। बाढीले घर, पुल, बस्ती तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

चुम्चेतस्थित विङ्गिलुङ खोलामा सुरु भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो। विङ्गिलुङ र स्यार खोला बूढीगण्डकीका सहायक नदी हुन्। पहिरोका कारण नदीको बहाव अवरुद्ध भएर एक्कासि खुलेपछि तल्लो तटीय क्षेत्रमा बाढी आएको प्रारम्भिक विवरणले देखाएका छन्।

बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुलसहित कम्तीमा ६ वटा पुल बगाएको छ। धादिङको त्रिपुरासुन्दरी र गोरखाको आरुघाटस्थित सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ। आरुघाटस्थित मध्यपहाडी लोकमार्गमा पर्ने पुलमा समेत क्षति पुगेको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–१ हुल्चोक र वडा नम्बर ३ उहिया जोड्ने बेलिब्रिज तथा धार्चे–५ को माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। चुमनुब्रीको ठाडोभर्याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको प्रारम्भिक विवरण छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ। बूढीगण्डकी नदी आसपासका बस्ती, पदमार्ग तथा अन्य संरचनामा समेत क्षति भएको छ।

बाढीपछि कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने काम पनि जारी छ।

बेनीघाटदेखि मुग्लिनसम्म बाढीको जोखिम

बूढीगण्डकी नदीमा बाढीको सतह जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको भन्दै नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।

चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा पनि बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ।

स्थानीय बासिन्दाका अनुसार बूढीगण्डकी नदी बेलाबेला थुनिने र त्यसपछि एक्कासि लेदोसहितको बाढी आउने गरेको छ। यसले नदी आसपासका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin