काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टरमार्फत उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण गलत रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले हालसम्म हेलिकप्टर उद्धारका लागि १४–१५ करोड रुपैयाँ खर्च भएको विवरण बिलसहित प्राप्त भएको बताए। नेपाली सेनातर्फबाट खर्च विवरण आउन बाँकी रहेको उनको भनाइ छ। उनले सबै विवरण प्राप्त भएपछि वास्तविक खर्च अझ स्पष्ट हुने बताए।
गृहमन्त्री गुरुङले विपद्का बेला नागरिकको खोज तथा उद्धारमा सरकार स्रोतसाधन परिचालन गर्न जिम्मेवार रहेको भन्दै हेलिकप्टर उद्धारमा अर्बौं रुपैयाँ खर्च भएको दाबीमा सत्यता नरहेको बताएका हुन्।
भोटेकोशी बाढीपछि रसुवा तथा आसपासका सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन भएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणअनुसार बाढीपछिको प्रारम्भिक आठ दिनमै काठमाडौंबाट प्रभावित क्षेत्रमा २२० हेलिकप्टर उडान भएका थिए।
यसैबीच, विपद् प्रतिकार्यमा सरकारले गरेका कामको गम्भीर समीक्षा गरिने गृहमन्त्री गुरुङले बताएका छन्। नुवाकोटलगायत क्षेत्रमा सुत्केरी, गर्भवती महिला र बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा देखिएका असहजता र कमजोरीलाई सरकारले गम्भीर रूपमा लिएको उनको भनाइ छ।
गृहमन्त्रीले विपद् प्रतिकार्यमा सरकार अझै सक्रिय रहेको र उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिइरहेको बताएका छन्।



