काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभसँग आबद्ध चालकहरूले बुधबार काठमाडौंको कुपन्डोलस्थित कम्पनी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। चालकहरूले उच्च कमिसन र कम भाडादरका कारण आफूहरू समस्यामा परेको भन्दै कमिसन घटाउन र यात्राको उचित मूल्य निर्धारण गर्न माग गरेका हुन्।
स्वतन्त्र चालक फाउन्डेसन नेपालको नेतृत्वमा भएको प्रदर्शनमा चालकहरूले विभिन्न मागसहित नाराबाजी गरेका थिए। उनीहरूले ‘कम भाडा, बढी कमिसन स्वीकार्य छैन’, ‘श्रमको उचित मूल्य देऊ’, ‘कमिसन घटाऊ, न्याय बढाऊ’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
फाउन्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार नयाँ आर्थिक वर्षदेखि सरकारले लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत पुरानै भाडा संरचनाअनुसार चालकहरूको कमिसनबाट कटौती भइरहेको छ। यसले चालकहरूको आम्दानीमा थप असर परेको उनको भनाइ छ।
प्रदर्शनकारी चालकहरूले इन्ड्राइभले लिने कमिसन दर पुनरावलोकन गर्नुपर्ने, श्रमअनुसारको आम्दानी सुनिश्चित गर्नुपर्ने र यात्रु तथा चालक दुवैलाई न्याय हुने गरी भाडा प्रणाली बनाउनुपर्ने माग राखेका छन्।
राइड सेयरिङ क्षेत्रमा पछिल्लो समय चालकहरूले कम आम्दानी, बढ्दो खर्च र प्लेटफर्म शुल्कको विषय उठाउँदै आएका छन्। इन्ड्राइभ चालकहरूको पछिल्लो प्रदर्शन पनि यही असन्तुष्टिसँग जोडिएको बताइएको छ



