काठमाडौं — नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठसम्मको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४.२३ प्रतिशतभन्दा कम हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा औसत मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ।
खाद्य तथा पेय पदार्थ समूहमा सबैभन्दा बढी फलफूलको मूल्य १७.४० प्रतिशतले बढेको छ। त्यस्तै, घ्युतेल १५.१० प्रतिशत, माछामासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशतले महँगिएको छ। यद्यपि, दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिरा तथा पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।



