काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ। नयाँ पोर्टलमार्फत अब करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा भएको त्रुटि सात दिनभित्र अनलाइनबाटै सच्याउन सक्ने भएका छन्।
यसअघि भ्याट विवरण बुझाउँदा सामान्य अंकगत वा प्राविधिक त्रुटि भए पनि सच्याउन सम्बन्धित कर कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यस्तो झन्झट हटाउँदै करदातालाई अनलाइनबाटै विवरण संशोधन गर्ने सुविधा दिएको हो।
आन्तरिक राजस्व विभागका निर्देशक केशव रघुवंशीका अनुसार कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउन प्राविधिक सुधार गरिएको हो। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले पनि नयाँ प्रणालीमार्फत करदाताले भोग्दै आएका प्रशासनिक झन्झट कम गर्नुका साथै राजस्व परिचालनमा हुन सक्ने सम्भावित चलखेल नियन्त्रण गर्ने उद्देश्य रहेको बताएका छन्।
ईटीडीएसमा पनि कडाइ
नयाँ पोर्टलले विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी (ईटीडीएस) गर्ने प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको विभागले जनाएको छ।
हालको व्यवस्थाअनुसार प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गर्नुपर्ने व्यवस्था रहे पनि कतिपय निकायले रकम लामो समयसम्म राखेर आर्थिक वर्षको अन्त्यतिर मात्र दाखिला गर्ने गरेको विभागको भनाइ छ। नयाँ प्रणालीमार्फत मासिक रूपमा ईटीडीएस दाखिला गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने तयारी गरिएको छ।
प्यानदेखि अन्तःशुल्कसम्म एउटै पोर्टलमा
नयाँ करदाता पोर्टलमा प्यान, भ्याट, अन्तःशुल्कलगायत विभिन्न प्रकारका राजस्वसम्बन्धी सेवा समेटिएको छ। विभागका अनुसार नयाँ प्रणाली परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो र सबै प्राविधिक सुविधा क्रमशः पूर्ण रूपमा सञ्चालनमा आउनेछन्। परीक्षण सफल नभएसम्म पुरानो करदाता पोर्टल पनि यथावत् सञ्चालनमा रहने विभागले जनाएको छ।
करदाताले विभागको आन्तरिक राजस्व विभागको वेबसाइट मा लगइन गरी ई–सर्भिसमार्फत नयाँ करदाता पोर्टलमा प्रवेश गर्न सक्नेछन्। नयाँ पोर्टलको ई–सर्भिस प्रणाली पनि सञ्चालनमा रहेको विभागको वेबसाइटमा देखिन्छ।
नयाँ व्यवस्थासँगै सामान्य त्रुटि सच्याउन कर कार्यालय धाउनुपर्ने बाध्यता हट्ने र कर प्रशासनको सेवा थप डिजिटल तथा करदातामैत्री हुने अपेक्षा गरिएको छ।



