काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो नाममा सार्वजनिक भएको विवादित अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा भिडिओ र क्याप्सन सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेका आरोप झुटा भएको बताएका हुन्। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएदेखि आफू निरन्तर आरोप र प्रहारको सिकार भइरहेको उनको भनाइ छ।
सुनारले सार्वजनिक भएका आरोपहरूको सत्यतथ्य छानबिन गर्न रास्वपा र सरकारसँग आग्रह गरेका छन्। साथै, अनुसन्धानमा आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
एक महिलालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएको र दुर्व्यवहार गरेको आरोपसहित सुनारको नाममा अडिओ सार्वजनिक भएको थियो।
उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले केन्द्रीय अनुशासन समितिलाई घटनाबारे छानबिन गर्न निर्देशन दिएको छ। पार्टीले सुनारलाई समेत कुनै सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइसकेको छ।



