ग्यासको आपूर्ति बढे पनि उपभोक्ताले अझै पाएनन्, अभाव कायमै

काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति बढाइएको दाबी गरिए पनि धेरै उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यासका लागि डिलर तथा वितरण केन्द्रमा लाइन लाग्ने र पालो कुर्नुपर्ने अवस्था कायमै रहेको छ।

सरकारले मंगलबार एकैदिन काठमाडौं उपत्यकामा १ सय ६२ बुलेट एलपी ग्यास र ५० हजार ८ सय ८ वटा सिलिन्डर भित्रिएको जनाएको छ। तर बजारमा आपूर्ति बढेको तथ्यांक आए पनि उपभोक्ताको तहमा ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो छ।

यसअघि आपूर्ति अवरोधका कारण उपभोक्ताले टोकन लिएर लामो समयसम्म पालो कुर्नुपरेको थियो। कतिपय वितरण केन्द्रमा मागअनुसार ग्यास नआउँदा दैनिक वितरण हुने सिलिन्डरको संख्या समेत घटेको थियो।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास ल्याउने नियमित आपूर्ति प्रणाली प्रभावित भएको थियो। वैकल्पिक मार्गबाट तराईका विभिन्न जिल्लास्थित उद्योगबाट ग्यास ल्याउने व्यवस्था गरिए पनि बजारमा रहेका खाली सिलिन्डरको संख्या बढ्दा माग धान्न कठिन भएको नेपाल आयल निगमले जनाएको छ।

निगमले भने बजारमा पर्याप्त ग्यास रहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गर्दै आएको छ। तर उपभोक्ताहरूले नियमित आपूर्ति सुनिश्चित नभएसम्म अभावको समस्या समाधान भएको महसुस गर्न नसकिने बताएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin