एलपी ग्यास बिक्री–वितरणमा कडाइ, अनियमितता रोक्न विभागको विशेष अनुगमन

काठमाडौं । एलपी ग्यास बिक्री–वितरणमा हुने अनियमितता, बिल–विजकबिनाको कारोबार तथा मापदण्ड उल्लङ्घन रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास व्यवसायीमाथि निगरानी बढाएको छ।

विभागले काठमाडौंका विभिन्न ग्यास डिपो तथा सप्लायर्समा विशेष बजार अनुगमन गर्दै व्यवसाय दर्ता, इजाजत, खरिद–बिक्री विवरण र उपभोक्ता हितसम्बन्धी मापदण्ड पालना भए–नभएको जाँच गरेको हो।

शुक्रबार गरिएको अनुगमनका क्रममा ग्यास सिलिन्डर खरिद–बिक्रीको हिसाब स्पष्ट नभएका तथा तोकिएको मापदण्ड पूरा नगरेका व्यवसायीलाई सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१० चाँदनीनगरस्थित युवा इन्टरप्राइजेज लाई व्यवसाय दर्ता, प्यान/भ्याट, कर चुक्ता प्रमाण, ग्यास विक्रेताको इजाजतपत्र तथा हालसम्मको ग्यास खरिद–बिक्री बिल र विभिन्न कम्पनीका ग्यास कारोबारको विवरणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, काठमाडौं–१० पुष्पनगर मार्गस्थित बाईजुराज सप्लायर्स लाई ग्यास सिलिन्डरको सहज आपूर्ति सुनिश्चित गर्न र बिना बिल–विजक कुनै पनि कारोबार नगर्न निर्देशन दिइएको छ।

सोही क्षेत्रको पीभी ग्यास स्टोर लाई ग्यास वितरणसम्बन्धी तोकिएको मापदण्ड पूर्ण रूपमा पालना गर्न, दैनिक बिक्री अभिलेख राख्न तथा खरिद–बिक्री बिल व्यवस्थित गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

यसैगरी, बबरमहलस्थित न्यू रातो भाले रेस्टुरेन्ट एण्ड होटेल मा गरिएको अनुगमनका क्रममा बिल–विजक लिने–दिने व्यवस्था मिलाउन तथा सरसफाइ सुधार गर्न निर्देशन दिइएको छ।

विभागले काठमाडौं तिनकुनेस्थित मार्बल प्यालेस इन्डस्ट्रिज प्रालि तथा ललितपुर सातदोबाटोका केही फलफूल तथा जुस पसल र बेकरी व्यवसायमा समेत अनुगमन गरी आवश्यक सुधारका निर्देशन दिएको जनाएको छ।

विभागले उपभोक्ताको हित संरक्षण, आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र बजारमा हुने गैरकानुनी कारोबार नियन्त्रण गर्न नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin