काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था गरिएको छ।
कृष्णभीरको सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं प्रवेश गर्न नसक्ने अवस्था आएपछि उपत्यका र आसपासका ग्यास उद्योगले राजधानीबाहिरै ग्यास भरेर ल्याउने व्यवस्था मिलाएका छन्। नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरका उद्योगबाट ग्यास भर्न अनुमति दिएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार वैकल्पिक उद्योगबाट ग्यास भर्ने काम सुरु भइसकेको छ। उनका अनुसार बाहिरबाट ग्यास ल्याउने व्यवस्था भएकाले काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ग्यासको अभाव हुन नदिने प्रयास भइरहेको छ र उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरिएको छ।
विभिन्न ग्यास उद्योगले अन्य उद्योगसँग समन्वय गरेर सिलिन्डर भर्न थालेका छन्। श्री ग्यासले बाबाबाट, श्रीकृष्णले साइबाबाबाट, श्रीरामले जानकीबाट तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगबाट ग्यास भर्न थालेका छन्। एभरेस्ट र सुगमले पनि साहारा उद्योगबाट ग्यास भर्न थालेको जनाइएको छ।
यसअघि नै देशका विभिन्न क्षेत्रमा एलपी ग्यासको सहज आपूर्तिको विषयमा उपभोक्ताले गुनासो गर्दै आएका थिए। सरकारले पर्याप्त आयात भइरहेको दाबी गरे पनि पूर्ण तौलको सिलिन्डर वितरण सुरु भएपछि माग एक्कासि बढ्दा केही क्षेत्रमा आपूर्ति व्यवस्थापनमा समस्या देखिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि माग बढेका कारण केही समय आपूर्ति व्यवस्थापनमा असहजता आएको जनाएको थियो।
ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम समेत गठन गरेको छ। उक्त टोलीले विभिन्न स्थानमा ग्यास आपूर्ति वा वितरणमा समस्या देखिए तत्काल सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरी समाधान गर्ने जिम्मेवारी पाएको छ।
कृष्णभीरको सडक कहिले खुल्ने निश्चित नभएसम्म वैकल्पिक मार्ग तथा बाहिरी जिल्लाका उद्योग प्रयोग गरेर ग्यास आपूर्ति निरन्तर राख्ने तयारी गरिएको छ।


