१७ भदौ, काठमाडौं । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको एलपी ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउन सरकार र व्यवसायीबीच नयाँ सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको सरोकारवाला निकायसहितको बैठकले एलपी ग्यास ढुवानीका लागि वैकल्पिक सडक प्रयोग गर्ने तथा त्यसका लागि ढुवानी भाडादर निर्धारण गर्ने निर्णय गरेको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार वैकल्पिक मार्गबाट जाने ग्यासका ट्रक तथा बुलेटलाई स्कर्टिङसहित सुरक्षित गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुने अवस्था आएको थियो। सम्भावित अभाव रोक्न व्यवसायीहरूले खाली सिलिन्डर संकलन गरी भरेर उपत्यकातर्फ पठाउने कामसमेत सुरु गरिसकेका छन्।
चन्दका अनुसार सडक अवरोधका कारण ग्यास ढुवानीमा समस्या देखिए पनि वैकल्पिक मार्गबाट आपूर्ति निरन्तर राख्ने प्रयास भइरहेको छ।
त्रिशूली नदीमा आएको बाढी तथा कटानका कारण धादिङको कृष्णभीर क्षेत्रमा सडक संरचनामा क्षति पुगेपछि पृथ्वी राजमार्गमा यातायात प्रभावित भएको हो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्तिमा समेत असर पर्ने जोखिम बढेको छ।
सरकार र व्यवसायीबीच भएको नयाँ सहमतिले वैकल्पिक सडकमार्फत ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानीलाई निरन्तरता दिने र आपूर्ति प्रणालीलाई सहज बनाउने अपेक्षा गरिएको छ।



